गोकर्णेश्वर युवा उपकार क्लव ३५ औं वर्षमा प्रवेस
Admin
January 07, 2024
काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव 'गोकर्णेश्वर युवा उपकार क्लव'ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २०४६ सालमा काठमाडौंको गोकर्णेश्वरमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाको ३४ औं बर्ष उत्सव मनाएको हो ।
क्लवका पदाधिकारी,सल्लाहकार तथा सदस्यहरुको उपस्थितीमा आयोजित कार्यक्रममा क्लवको नाम र स्थापना मिति अंकित लोगो सहितको केक काटेर क्लव ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आपसमा खुसी व्यक्त गरिएको थियो ।
आज भन्दा ३४ बर्ष पहिले अर्थात २०४६ सालमा मंगल दास श्रेष्ठको नेतृत्वमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले तत्कालिन समय देखी नै गोकर्णेश्वर क्षेत्रको सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । श्रेष्ठ क्लवको अध्यक्ष रहेको सो समयमा २०४७ सालमा गोकर्णेश्वर उतरबाहीनी मन्दिर परिसरमा र २०४८ सालमा गोकर्णेश्वरको नाईडोलमा बृक्षारोपण गरिएको थियो । गोकर्णेश्वर क्षेत्रमा पहिलो पटक रक्तदान कार्यक्रमको सुरुवात समेत यसै क्लवले गरेको हो । सो समय देखी हाल सम्म सामाजिक रुपान्तरण सहितको सेवा प्रदान गर्दै आएको क्लव स्थापनाको ३ दशक लामो यात्रामा शिक्षा, स्वास्थ्य लगायत क्षेत्र साथै विपतकालिन अवस्थाका समय मानविय सेवामा क्रियाशिल रहंदै आएको छ ।
गोकर्णेश्वर युवा उपकार क्लवका पदाधिकारीहरुले आफ्नो ३४ औं बार्षिक उत्सव कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सदस्य तथा शुभचिन्तक र सहयोगीहरु प्रति धन्यवाद दिनुका साथै निरन्तरको लामो सामाजिक यात्रामा प्रत्यक्ष, परोक्ष र अप्रत्यक्ष रुपमा सहकार्य मूलक सहयोग पुर्याउँदै आएकाहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।